‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ झुमे दर्शक

मोरङ,
माघ १९ ।

यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ ले आफ्नो प्रवद्र्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेपछि चलचित्रको टोली यतिबेला पूर्वी नेपालको प्रचार यात्रामा जुटेको छ ।

चलचित्रको प्रचार-प्रसारका क्रममा मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ । भगवती माध्यमिक विद्यालयको प्रांगणमा आयोजित उक्त सांगीतिक कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू अविषेक खड्का र आकृति राजभण्डारीले फिल्मको चर्चित गीत ‘डोको बुन्ने’मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू समेत उनीहरूसँगै झुमेका थिए । त्यस्तै, चलचित्रका पाश्र्व गायक केहर सिंह लिम्बुले ‘डोको बुन्ने’, ‘तिमी बिना’ र ‘कता छौ’लगायत आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभएको थियो । दर्शकहरू राति ११ बजेसम्म कार्यक्रम स्थलमै बसेर कलाकाराई साथ दिएका थिए ।

यसैबीच, अभिनेता अविषेक खड्का शनिबार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नो घर पुग्नुभएको थियो । अभिनेत्री आकृति राजभण्डारीसहित गृह नगर पुग्नुभएका उहाँलाई आफन्त र छिमेकीहरूले भव्य स्वागत गरेका थिए । लामो समयपछि घर फर्कँदा बुबासँग भेट हुँदा माहौल भावुक बनेको थियो । डेब्यु चलचित्रबाटै उल्लेखनीय चर्चा बटुलिरहनुभएका अविषेक र आकृति दुवै सो अवसरमा भावुक देखिनुभएको थियो ।

विनिश इन्टरटेन्मेन्टको व्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्र ‘कुमारी’मा प्रेम, संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ । चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहनुभएको छ । यसका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै हिट भइसकेका छन् । ‘डोको बुन्ने’ गीतले युट्युबमा ८५ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायत कलाकारहरूको पनि अभिनय छ । विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको चलचित्रको पोष्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नुभएको हो । चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार