कृषाको ‘पारस’मा जसिता

काठमाडौं,
माघ १२ ।

कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले जसितालाई औपचारिक रूपमा चलचित्रका लागि अनुबन्ध गरेको हो । यसअघि अभिनेता निखिल उप्रेती चलचित्रमा अनुबन्धित भइसकेको समाचार सार्वजनिक भइसकेको छ । जसिताको अपोजिटमा निखिल उप्रेती देखिने चर्चा भए पनि निर्माण टिमले यसबारे आधिकारिक जानकारी भने दिएको छैन । चलचित्रका अन्य कलाकारहरू को(को हुनेछन् भन्ने विषयमा पनि निर्माण पक्षले हालसम्म केही खुलाएको छैन ।

निखिल उप्रेती चलचित्रमा अनुबन्धित भएसँगै दर्शकमाझ फिल्मप्रति चासो बढेको छ । एक्सन तथा सामाजिक कथामा आधारित ‘पारस’मा निखिल र जसिताको जोडी दर्शकका लागि नयाँ स्वाद दिने निर्माण पक्षको विश्वास छ ।

निर्देशक कृषा चौलागाईंका अनुसार चलचित्रका लागि दुवै पक्षबीच कागजी सम्झौता भइसकेको छ । ‘फिल्मको कथाअनुसार नै कलाकारहरू फाइनल गर्दै अघि बढिरहेका छौं’, उहाँले भन्नुभयो । केपी फिल्मस्को ब्यानरमा निर्माण हुने यस चलचित्रको कथा भारतीय पटकथाकार सचिन लादियाले लेख्नुभएको हो । छायांकनको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नुहुनेछ ।

यसअघि निर्देशक चौलागाईंले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसक्नुभएको छ । ‘पारस’ उहाँको तेस्रो निर्देशकीय चलचित्र हो । निर्माण पक्षका अनुसार यस चलचित्रको छायांकन आगामी फागुन महिनाबाट सुरु गर्ने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार