काठमाडौं,
माघ ९ ।
चलचित्र ‘कल्ली’ले आफ्नो सम्पूर्ण छायांकन कार्य पूरा गरेको छ। राजधानीको चोभारमा नायिका पूजा शर्माको विशेष नृत्य (आइटम डान्स) छायांकन गरेसँगै चलचित्रको सुटिङ ६० औँ दिनमा विधिवत रूपमा सकिएको हो । जुम्लाको विकट र मनोरम स्थानहरूमा मुख्य छायांकन गरिएको यस चलचित्रले अन्तिम दृश्यका लागि चोभारलाई रोजेको थियो ।
चलचित्रको समापनको अवसरमा नायिका पूजा शर्माले ‘क्या राम्री’ बोलको गीतमा कम्मर मर्काउनुभएको छ । विवाहपछिको आफ्नो पहिलो काम र करियरकै पहिलो आइटम डान्स भएकाले यो गीत आफ्ना लागि विशेष रहेको पूजाले बताउनुभयो । गीतमा आशिष अविरलको संगीत र मेलिना राईको स्वर रहेको छ । चोभारमा दुई दिन लगाएर खिचिएको यस भिडियोमा पूजाको साथमा अभिनेता उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीको समेत प्रभावशाली नृत्य देख्न सकिनेछ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो । महेश दवाडीको लेखन रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान लगायतका दिग्गज कलाकारहरूको अभिनय छ । चलचित्रले ‘देवता र राक्षस’ बीचको द्वन्द्वको कथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
निशाल पौडेलको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको यस चलचित्रको टिजरले यसअघि नै दर्शकमाझ कौतुहलता जगाइसकेको छ । निर्माता किरण नेपालीका अनुसार यो गीतलाई केही समयमै सार्वजनिक गरिनेछ भने चलचित्र आगामी फागुन १ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ ।






