सिनेमा हलमा ‘परिवर्तन’

काठमाडौं,
माघ ९ ।

चलचित्र ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । एक्सनप्रधान यो चलचित्रको टिजर र ट्रेलरले दर्शकमा उत्साह बढाएकाले त्यसको प्रभाव व्यापारमा देखिने अपेक्षा गरिएको छ । तर, यो चलचित्रको बक्स अफिसमा बलिउड फिल्म ‘बोर्डर २’सँग प्रतिस्पर्धा हुन लागेकाले ठूलो चुनौती पनि देखिएको छ । यसलाई चिर्न फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।

‘परिवर्तन’लाई देशभरका अधिकांश मल्टीप्लेक्सले शो उपलब्ध गराएका छन् । चलचित्रले पहिलो दिनका लागि देशव्यापी करिब ९० शो पाएको छ, जुन सन्तोषजनक नै हो । उपलब्ध शोहरूमा ३०-४० प्रतिशत मात्रै पनि अकुपेन्सी हासिल हुन सकेमा फिल्मको ओपनिङ उत्साहप्रद हुनेछ ।

दुई घण्टा १३ मिनेट रनटाइम तय भएको ‘परिवर्तन’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पिजी सर्टिफिकेट’ (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउने भएका छन् । चलचित्रमा लडाइँ र हिंसात्मक दृश्य अत्याधिक भएकाले बोर्डले पिजी प्रमाणपत्र दिएको जनाइएको छ ।

विजय केरुङको निर्देशनमा बनेको यस चलचित्रमा सुशील श्रेष्ठ, करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, आशा पौडेल, आयुषा कार्की, सिरु विष्ट लगायतको अभिनय छ । चलचित्रलाई दीपक सिवाकोटीले निर्माण गर्नुभएको हो । यसमा उहाँ स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेख्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार