काठमाडौं
माघ ८ ।
यही शुक्रबारदेखि सिनेमाहलमा आउन लागेको एक्सन चलचित्र ‘परिवर्तन’को सेन्सर पास भएको छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई पिजी सर्टिफिकेट दिएसँगै यो चलचित्रको सेन्सर पास भएको हो । यस चलचित्र हेर्नका लागि १६ वर्षमुनिकाका दर्शकले अभिभावक साथैमा लैजानुपर्ने छ ।
चलचित्रलाई पुराना चलचित्र निर्देशक विजय केरुङले निर्देशन गर्नुभएको हो । फिल्मको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले चलचित्रमा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल चलचित्रमा रहेकाले पिजी सर्टिफिकेट पाएको जानकारी गराउनुभयो । उहाँका अनुसार केही डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले चलचित्र हेर्नका लागि अभिभावक चाहिएको हो ।
यो चलचित्रको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा छ । चलचित्रमा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई दर्शकले छोटो समयमै ११ लाखभन्दा बढी दर्शकले हेरेका थिए । यस चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारको अभिन छ ।
दिव्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गर्नुभएको हो । निर्माता सिवाकोटीकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेख्नुभएको हो ।
एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको यो चलचित्रमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन दर्शकले हेर्न पाउने छन् । चलचित्रलाई आर आर फिल्मस्ले वितरण गर्दै छ भने ओएसआर डिजिटलले सहकार्य गरेको छ ।






