काठमाडौं,
माघ ६ ।
चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । सुदीप भुपाल सिंह निर्देशन रहेको यो चलचित्रको निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गर्दै रिलिजको घोषणा गरेको हो ।
चलचित्रमा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश चलचित्रको सार्वजनिक स्केच पेन्टिङ पोस्टर आर्कषक देखिन्छ । चलचित्रबाट निर्देशक सुदीप भुपाल सिंह सात बर्षपछि निर्देशन फर्किनुभएको हो । यसअघि उहाँले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गर्नुभएको थियो ।
पछिल्लो समय सामाजिक पारिवारिक चलचित्रले दर्शकको मन जितिरहेको अवस्थामा यो चलचित्रको विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास निर्देशक सिंहको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गर्नुभएको हो ।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको यो चलचित्रको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।
चलचित्रको गीतमा रञ्जीत गजमेर, वसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ ।






