काठमाडौं,
माघ ६ ।
थाइल्यान्डको कोरातमा आयोजित अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई. एम. मोडल सर्च’मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्नुभएको छ । उहाँले जुनियर क्लब तर्फको शीर्ष उपाधिसहित ‘द मोष्ट प्रोमिसिङ मोडल’ र ‘बेष्ट इन गोसिज’को सबटाइटल समेत जित्न सफल हुनुभएको हो । उहाँसँगै प्रतियोगीतामा सहभागी मनस्वी बस्नेतले ‘द मोष्ट प्रोमिसिङ मोडल’को सबटाइल जित्नुभयो ।
जनवरी १३ देखि १८ तारिखसम्म ६ दिने चलेको प्रतियोगीतामा १८ देखि २० देशका बालबालिकाहरूको सहभागिता रहेको थियो । मनस्वी रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको नेपाली प्रतियोगीता ‘मिलेनियम किड्स इन्टरनेशनल २०२६’की विजेता हुनुहुन्छ, भने जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेशनल २०२५’का विजेता हुनुहुन्छ । प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुनुभएको थियो ।
पर्यटन प्रवर्दन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगीतामा मनस्वीले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भेषभुषा र संस्कृति प्रस्तुत गर्नुभएको थियो भने जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचानलाई प्रदर्शन गर्नुभएको थियो ।






