‘कुमारी’को देशव्यापी सांगीतिक यात्रा : ‘केहर एन्ड द लुङा ब्यान्ड’ले पोखराका दर्शक झुमाए

काठमाडौं,
माघ ५ ।

यही माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को प्रवद्र्धनका लागि शनिबार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ । नेपालगञ्जबाट सुरु गरिएको देशव्यापी सांगीतिक यात्राको दोस्रो गन्तव्य पोखरामा आयोजित कन्सर्टमा करिब सात हजार दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । दर्शकको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप रौनक प्रदान गरेको आयोजकले जनाएको छ ।

कन्सर्टमा चलचित्रका प्रमुख कलाकारहरू अविशेक खड्का र आकृति राजभण्डारी स्टेजमा उपस्थित हुँदा दर्शकबाट हुटिङ र तालीको वर्षा भएको थियो । उनीहरूले चलचित्रको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत्यन्तै उत्साहित बनेको थियो । कलाकार द्वयले पोखरेली दर्शकले देखाएको मायाप्रति आभार व्यक्त गर्दै माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘कुमारी’ हेर्न आग्रह गरे ।

कार्यक्रममा पाश्र्व गायक केहर सिं लिम्बु र उहाँको ब्याण्ड ‘केहर एण्ड द लुङा’ले चलचित्रका गीत ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गर्नुका साथै आफ्ना लोकप्रिय गीतहरू ‘सरर’ र ‘बैगुनी’ पनि गाउनुभएको थियो । चलचित्रका सबै गीतमा स्वर दिनुभएका केहर र उहाँको ब्यान्डको प्रस्तुतिमा दर्शकहरू जमेर झुमेका देखिन्थे ।

बिग मार्टको प्रस्तुतिमा तथा पावर्ड बाईमा सम्पन्न कन्सर्टको स्थानीय व्यवस्थापन प्रचारले गरेको थियो । पोखरामा चलचित्र र कलाकारप्रति देखिएको क्रेजले आफू निकै उत्साहित भएको निर्देशक दिनेश राउतले बताउनुभयो । स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उहाँले दर्शकको समर्थनले चलचित्रप्रति थप ऊर्जा र आत्मविश्वास मिलेको उल्लेख गर्नुभयो ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित चलचित्र ‘कुमारी’ को टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा प्रस्तुति दिने तयारीमा छ । साथै, माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमार्फत चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार