काठमाडौं,
पुस २२ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
यस्तै, आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३ः४ डिग्री सेल्सियस देखिएको हो ।






