काठमाडौं,
पुस १७ ।
चलचित्र ‘बम बिहारी’ को शुभमूर्हत गरिएको छ । बुधवार भक्तपुरमा रहेको हनुमान मन्दिरमा पूजा गर्दै यो यस चलचित्रको मूर्हुत गरिएको हो । यो चलचित्रको बुधवारदेखि नै छायांकन प्रारम्भ गरिएको छ । यो चलचित्रलाई डिएमएस मल्लले निर्देशन गर्दै हुनुहुन्छ । उहाँको यो डेब्यु निर्देशकीय चलचित्र हो । उहाँले यो भन्दाअघि धेरै वटा म्युजिक भिडियोको निर्देशन गर्नुभएको छ ।
चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार छायांकन काठमाडौंसँगै नेपालगञ्जमा पनि हुनेछ । प्रारम्भमा काठमाडौंमा एक सातासम्म छायांकन गरेपछि चलचित्र युनिट नेपालगञ्जतर्फ लाग्ने छ ।
नेपाली भूमिकी आमा तथा भारतीय भूमिका बुबाको एक छोराको कथा ‘बम बिहारी’ मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्ने छ । चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहने छ ।
चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने ल्यांग्री दादा, ध्रुव बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत, सम्राट क्षेत्री लगायतका कलाकारको अभिनय रहने छ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने यो चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहने छ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ लाई रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन रहनेछ । मुख्य सहायक निर्देशक बिनयराज पौडेल रहनुभएको छ भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुनुहुन्छ ।






