काठमाडौं,
पुस १५ ।
चलचित्र ‘एक्लो’ को विश्व प्रिमियर अमेरिकाको न्यूयोर्कमा गरिएको छ । विज्ञान कथामा आधारित यस चलचित्रको एस्टोरियास्थित ‘म्युजियम अफ द मूभिङ इमेज’ मा प्रिमियर गरिएको हो ।
प्रिमियर समारोहमा अभिनेताद्वय प्रदीप खड्का र जेमी बेकन सहभागी हुनुभएको थियो । मिस नेपाल नर्थ अमेरिकाका संस्थापक शैलेश श्रेष्ठ, सह-संस्थापक लाक्पा वाङ्बु तामाङ, तमु परिवार न्यूयोर्ककी अध्यक्ष मनिता गुरुङ, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई समारोहमा सहभागी रहनुभएको थियो ।
सो अवसरमा नेपाली अमेरिकी दर्शकसहित गैरनेपाली दर्शक पनि सहभागी थिए । हलिउडका केही चर्चित चलचित्रको प्रिमियर हुने उक्त थलोमा ‘एक्लो’ ले अवसर पाएको थियो ।
चलचित्र १ जनवरी, २०२६ (१७ पुस, २०८२) देखि नेपालमा रिलिज तयारीमा छ । ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले चलचित्रको वितरण गर्नेछ ।
चलचित्रमा प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ । एनआरएन समूहको लगानी रहेको चलचित्रको निर्मातामा प्रदीप खड्का पनि हुनुहुन्छ ।
विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । यो चलचित्रको गत मेमा फ्रान्समा भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । कान्समा स्टल राख्ने यो पहिलो नेपाली चलचित्र हो ।






