काठमाडौं,
पुस १३ ।
नायक आर्यन सिग्देलको म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनयमात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उहाँकै हो । ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिनुभएको छ । भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतार-चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ । भिडियोमा आर्यनलाई फरक लुक्समा देख्न सकिन्छ । उहाँ रिशाहा र मायालु दुबै लुक्समा देखिनुभएको छ ।
आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ । संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईको रहेको ‘बानी’मा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुब्रत आचार्यको निर्देशन छ ।






