मध्यपूर्वमा रिलिज हुँदै ‘एक्लो’

काठमाडौं,
पुस १२ ।

साइन्स फिक्सन चलचित्र ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले चलचित्रको वितरण गर्नेछ । ट्रेलरले दर्शकमा चलचित्रप्रति उत्साह जगाएकाले मध्यपूर्वमा राम्रो व्यापार गर्ने सम्भावना बढेको वितरक हरि मोक्तानले बताउनुभयो ।

आगामी शुक्रबार (१७ पुष)बाट नेपालमा प्रदर्शन हुन लागेको यो चलचित्रको यही आइतबार अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर गरिँदैछ । ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स जस्ता हलिउड स्टारसँग सम्बन्धित विशेष स्क्रिनिङ र प्रिमियर भइसकेको यो स्थानमा पहिलो पटक नेपाली चलचित्रको प्रिमियर हुन लागेको हो ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय छ । एनआरएन समूहको लगानी रहेको चलचित्रको निर्मातामा प्रदीप खड्का पनि हुनुहुन्छ ।

विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । यसमा रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन छ । यो चलचित्रको गत मेमा फ्रान्समा भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको थियो । कान्समा स्टल राख्ने यो पहिलो नेपाली चलचित्र हो ।

यसमा तपाइको मत

अन्य समाचार