काठमाडौं,
पुस १२ ।
रश्मिलाज फेसियल हाउसले काठमाडौंको हात्तीगौँडा, बुढानीलकण्ठमा आफ्नो चौथो आउटलेट सञ्चालनमा ल्याएको छ । संस्थाको १८औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री वेनिशा हमालले संयुक्तरूपमा रिबन काटेर हात्तीगौँडामा सञ्चालनमा आएको चौथो आउटलेटको उद्घाटन गर्नुभएको थियो ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष तथा अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा, अमेरिका लामो समय बसेर नेपाल फर्किनुभएकी समी रेग्मी अधिकारीको साझेदारीमा यो शाखा सञ्चालनमा ल्याइएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट रश्मिलाज फेसियल हाउसको सुरुवात गरिएको स्मरण गर्नुभयो । त्यसपछि गोंगबुको बिजी मल र बालाजु बसपार्कस्थित बुद्ध मलमा शाखा विस्तार गरिएको र अब हात्तीगौँडामा चौथो आउटलेट सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा काठमाडौंबाहिर र विदेशमा समेत शाखा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले रश्मिलाज फेसियल हाउसले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताको कामना गर्नुभयो । अभिनेत्री हमालले काठमाडौं मलस्थित शाखाबाट आफूले सेवा लिँदै आएको स्मरण गर्दै चौथो शाखाको उद्घाटनमा सहभागी हुन पाउँदा खुसी लागेको सुनाउनुभयो । अभिनेत्री तथा निर्देशक निरौलाले संस्थापक टिमलाई शुभकामना दिँदै उच्चस्तरीय सेवाकै कारण आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउससँग आबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै समी रेग्मी अधिकारीले नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ अमेरिका छोडेर नेपाल फर्किएको बताउँदै हात्तीगौँडामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रश्मिलाज फेसियल हाउसका तीनवटै पुराना शाखामा कार्यरत कर्मचारी, ब्युटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।






