बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइबीचको तादात्म्यताबारे अन्तरक्रिया

काठमाडौं,
पुस ७ ।

शिक्षा पत्रकार समूहको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा ‘बालबालिकाका लागि समावेशी पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइबीचको तादात्म्यता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिरहेको वर्तमान सन्दर्भमा सो परिमार्जनले शिक्षालाई व्यावहारिक र नैतिक रूपमा कसरी सम्बोधन गरेको छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

साथै विद्यालय तहका पाठ्यपुस्तकहरू लैगिंक समानता, बालबालिकामैत्री तथा समावेशी छन् कि छैनन् भन्ने अवस्थाबारे समीक्षा गर्दै सरकार र सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले समयको आवश्यकता र परिवर्तित सन्दर्भ अनुसार पाठ्यक्रम परिमार्जन अपरिहार्य रहेको बताउनुभयो । उहाँले पाठ्यक्रम विकास केन्द्रले आगामी दिनमा पाठ्यक्रमलाई अझै परिमार्जन र सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा सन्दर्भसापेक्ष सुधार गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा अनुसन्धानकर्ता होमराज आचार्यले नेपालको सन्दर्भमा पाठ्यपुस्तकमा विविधता, समानता र समावेशीकरणको अवस्था विषयमा विश्लेषणात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै प्राडा.विद्यानाथ कोइरालाले पाठ्यपुस्तकमा लेखिएका सबै कुरा अन्तिम सत्य हुन् भन्ने मानसिकताबाट माथि उठेर विभिन्न समुदायलाई सम्बोधन हुनेगरी शिक्षण प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतीले समूह स्थापनाकालदेखि नै शिक्षासम्बन्धी मुद्दामा केन्द्रित रही निरन्तर बहस र छलफल गर्दै आएको बताउनुभयो । उहाँले अन्तरक्रियामा उठेका सुझाव र सवालहरूले समयानुकूल तथा आवश्यकतामुखी पाठ्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेभ द चिल्ड्रेनकी प्रतिनिधि डा.लक्ष्मी पौड्यालले यस प्रकारका अन्तक्र्रियाले बालबालिकाका लागि समावेशी पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि, पाठ्यक्रमविद्, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका प्रतिनिधि, प्रधानाध्यापक, विषयगत शिक्षक, विषय विज्ञ, अपांगता भएका व्यक्ति, यौनिक तथा अल्पसंख्यक समुदायका प्रतिनिधि तथा विद्यार्थी बालबालिकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार