काठमाडौं,
पुस ४ ।
चलचित्र ‘पेन्सन पट्टा’को छायांकन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट शुभ-मुहूर्तसहित बिहीबारदेखि चलचित्रको छायांकन सुरु गरिएको हो ।
चलचित्रका निर्देशक र निर्माता कलाकार माओत्से गुरुङ हुनुहुन्छ । चलचित्र ३५ दिनसम्म कास्कीका विभिन्न ठाउँहरूमा खिचिने जनाइएको छ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ । चलचित्र भूतपूर्व लाहुरेको कथामा बन्न लागेको निर्देशक गुरुङले बताउनुभयो ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेख्नुभएको हो । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने चलचित्र सुशन प्रजापतिले खिच्नुहुने छ । चलचित्रमा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको रहनेछ । माओत्सेले यसअघि ‘दयारानी’ निर्देशन गर्नुभएको थियो ।






