काठमाडौं,
पुस २ ।
अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा चकलेटी नायक सिग्देल फरक अवतारमा देखिनुभएको छ । चलचित्रमा आर्यन सिग्देलसँगै करुणा श्रेष्ठको अभिनय छ । ‘बानी’मा नेपालको एक युवा र सिक्किमकी एक युवतीबीचको वियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ । टिजरमा आर्यनले निर्वाह गरेको नेपाली युवासँग सिक्किमकी युवती करुणा श्रेष्ठको प्रेम, त्यसपछि आउने उतारचढावलाई रोचक ढंगले देखाइएको छ ।
यसअघि चलचित्रका दुई पोष्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक पोष्टरहरूमा आर्यन सिग्देललाई ‘एंग्रि ब्वाई’ र ‘लभर ब्वाई’ दुवै क्यारेक्टरमा प्रस्तुत गरिएको छ । ‘बानी’मा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ । भिडियोको कन्सेप्ट पनि उहाँकै हो । भिडियोका संवाद दिनेश क्षेत्रीसँगै केशव भट्टराईले लेख्नुभएको हो । अभिनयमा आर्यन र करुणा श्रेष्ठसँगै सविन कट्टेल र सुस्मिता श्रेष्ठलाई पनि देख्न सकिन्छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालको छ भने निर्देशन सुब्रत आचार्यले गनुभएको हो । म्युजिकल फिल्म ‘बानी’ यही पुस १० गते रिलिज हुने तयारीमा छ ।






