पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ : गणेश र रमेश उप्रेतीको पुनरागमनसँगै नयाँ पुस्ताको डेब्यु

काठमाडौं,
मंसिर २९ ।

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पुस ४ गते प्रदर्शन हुँदै छ । यस चलचित्रमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको समिश्रण देख्न पाइन्छ । चलचित्र क्षेत्रमा अग्लो कद बनाउनुभएका गणेश उप्रेतीदेखि जेनजी पुस्ताकी प्रियना आचार्य (मुन्नी)सम्मले यस चलचित्रमा अभिनय गर्नुभएको छ । यसैले चलचित्रप्रति दर्शकमा उत्सुकता, चासो र अपेक्षा बढेको देखिन्छ ।

गणेश दुई दशकअघिका लोकप्रिय कलाकार हुनुहुन्छ । टेलिसिरियल हुँदै उहाँले ५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । ‘भाग्य रेखा’, ‘लक्ष्मी पूजा’, ‘ए मेरो हजुर’ जस्ता चलचित्र उहाँका यादगार मानिन्छन् । लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका उहाँले ‘झरिपछिको इन्द्रेणी’बाट नौ वर्षपछि कमब्याक गर्नुभएको हो ।

चलचित्रमा अघिल्लो पुस्ताका सुपरस्टार रमेश उप्रेतीको पनि मुख्य भूमिका छ । चलचित्रमा उहाँ करिब सात वर्षपछि देखिन लाग्नुभएको हो । अभिनेत्री दीपाश्री निरौला पनि यही चलचित्रमार्फत दर्शकसँग भेट गर्दैहुनुहुन्छ । निर्मल शर्मा, प्रकाश घिमिरे जस्ता पुराना पुस्ताका कलाकारको पनि यस चलचित्रमा महत्वपूर्ण भूमिका छ ।

नयाँ पुस्तातर्फ चलचित्रमा मुन्नीको रुपमा दर्शकमाझ परिचित प्रियना आचार्यसहित विमोचन दवाडी र जेसिका पोखरेलले अभिनय छ । विमोचन र जेसिका दुवैको यो डेब्यु चलचित्र हो । जेसिका दीपाश्रीकी बहिनीकी छोरी हुनुहुन्छ । चलचित्रमा निर्देशक घिमिरे स्वयंको पनि अभिनय छ ।

देशको वर्तमान राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताका युवाहरूको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको यस चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अंशु महर्जन लगायतको पनि अभिनय छ । पुष ४ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बू निर्मातामा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार