काठमाडौं,
मंसिर २५ ।
गतवर्ष बाबु र छोराबीचको इमोस्नल सम्बन्ध रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा ४८ करोड हाराहारीको व्यापार गर्दै सर्वकालिन ब्लकबस्टर फिल्मको रेकर्ड राख्यो । यो वर्ष बाबु र छोराकै कथा समेटिएको चलचित्र ‘परान’ले १७ करोड बढी ग्रस गर्दै सुपरहिटको ट्याग पाइसकेको छ ।
यही पेरीफेरीमा आगामी माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदैछ । चलचित्रमा बाबु र छोरीको कथा देखाइएको छ । सन्तानप्रति बाबुआमाले गर्ने अथाहा स्नेह र त्याग चलचित्रमा छ । आमाले घर छोडेपछि घरमा रहेका छोरी र बाबुको संघर्ष र भावनात्मक सम्बन्धलाई चलचित्रमा देखाइएको छ । घरमा आमा नहुँदा एउटा बाबुले छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै कसरी गर्छन् भन्ने कथा नै मिरमिरे हो ।
यो चलचित्रका निर्देशक यम शेर्पा आफ्नो फिल्ममा बाबुछोरीको कथा देखाइएकाले ‘पूर्णबहादुरको सारंगी’ र ‘परान’ जस्तै दर्शकले मनपराउनेमा ढुक्क हुनुहुन्छ । ‘हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,’ चलचित्रका लेखक तथा निर्देशक यम शेर्पा भन्नुहुन्छ, ‘बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।’
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतका कलाकारको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुनुहुन्छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहनुभएका चलचित्र वितरक रोहित कट्टेल रहनुभएको छ ।






