वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाको सामूहिक अभिनन्दन

भक्तपुर,
मंसिर २३ ।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक रूपमा अभिनन्दन गरिएको छ । तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाजको संयोजनमा एकसय एक संस्थाले भक्तपुर ठिमीमा एक विशेष कार्यक्रमबीच अभिनन्दन गरेका हुन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ र उहाँकी धर्मपत्नीलाई दोसल्ला दुवोको माला टोपी लगाएर अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले चन्दका बारेमा विस्तृत परिचर्य राख्नुभएको थियो भने अध्यक्ष लेकालीले कार्यक्रमका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । यस्तै, श्रीओमले अभिनन्दन वाचन गर्नुभएको थियो । वरिष्ठ साहित्यकार चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ । उहाँलाई एकसय एक संस्थाका प्रतिनिधिले अलग–अलग पनि खादा, माला दोसोल्लाले अभिनन्दन गरेका थिए ।

नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द विभिन्न समयमा चार पटक नेपालका प्रधानमन्त्री बन्नुभएको छ । उहाँ कुशल शब्द-शिल्पी हुनुहुन्छ । मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिनुहुन्छ ।
समारोहमा उहाँका पारिवारिक सदस्यसँगै विविध क्षेत्रका विशिष्ठ व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार