काठमाडौं,
मंसिर २२ ।
पुस ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको कथा सार बोल्ने ट्रेलरमा अभिभावकले सन्तानलाई दिने दबाब, छोराछोरीको विदेश मोह, अविश्वास, प्रतिशोध छ ।
चलचित्रमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पनि समेटिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध भएको आन्दोलन र त्यसपछि भएको नेताको भागाभागलाई सिनेमाले समेटेको ट्रेलरले देखाएको छ ।
चलचित्र ‘झरीपछिको इन्द्रेणी’लाई हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशन गर्नुभएको छ । यस चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दै हुनुहुन्छ ।
‘झरीपछिको इन्द्रेणी’मा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनलगायत कलाकारको अभिनय छ ।
चलचित्रको एउटा गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनुहुनेछ । निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेख्नुभएको हो भने बुद्ध थापाले छायांकन गर्नुभएको हो ।






