काठमाडौं,
मंसिर १५ ।
स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स आइकन’ दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव यही मंसिर २२ गते हुने भएको छ । कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा निर्णायक मण्डलले छनोट गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिने बताइएको छ । प्रेरणादायी महिला जनप्रतिनिधि मध्येबाट सातजना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरी सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख अन्सारी घर्तीमगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थितिमा रहनेछन् ।
कार्यक्रममा स्थानीय सरकारले आफ्ना सेवा, योजना तथा उत्पादनका स्टल राखी सूचना केन्द्रमार्फत जनप्रतिनिधिका काम र उपलब्धि प्रस्तुत गर्नेछन् । साथै महिला उद्यमीहरूले उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन् ।
यसैगरी, महिला नेतृत्व, राजनीतिमा सहभागिता र उद्यमशीलतामा महिलाको भूमिका विषयक बहस, छलफल तथा प्यानल डिस्कसनसमेत हुने कार्यक्रमको तयारी भइरहेको जनाइएको छ । प्यानल डिस्कसनमा नेपाल उद्योग वाणिज्य महासंघकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महांसंघकी अध्यक्ष शोभा ज्ञवाली र इनड्राइभ नेपालकी रीता पोखरेल, साथै शी लिड्स आइकनको पहिलो संस्करणका आइकनहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम छ ।






