काठमाडौं,
मंसिर ६ ।
चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको थियो । चन्द्रागिरीबाट छायांकन सुरु भएको चलचित्रको ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको कीर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा प्रबिन श्रेष्ठको निर्देशन हुनेछ । यसअघि चलचित्र ‘मोक्ष’को निर्देशन गर्नुभएका प्रबिनले १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दै हनुहुन्छ । निर्देशक श्रेष्ठका अनुसार यस चलचित्रमा कीर्तिपुरकै कथा छ ।
चलचित्रमा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ ।
चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा छ । चलचित्रको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुनुहुन्छ भने सहायक निर्देशकमा दिनेशबहादुर राउत रहनुभएको छ । चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठको नै सम्पादन रहनेछ ।
निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रुपमा हुनुहुन्छ भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर रहनुभएको छ । पोस्टर डिजाइन रोयल भीमसेनको रहेको छ । चलचित्रमा कोरियोग्राफी सृष्टि महर्जनको छ भने सहायक निर्देशनमा बिवेकराज भट्ट र आयुष दाहाल हुनुहुन्छ ।
चलचित्रका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुनुहुन्छ भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता रहनुभएको छ ।






