‘मन बिनाको धन’को ‘बा आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कात्तिक २७ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मन बिनाको धन’को ‘बा आमा’ गीत सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर, टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो चलचित्रले दर्शकको साथ पाइरहेको बेला निर्माण टिमले चलचित्रको गीत सार्वजनिक गरेको हो । चलचित्र प्रदर्शनको पहिलो दिनदेखि नै जेन-जी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

हल भिजिटमा पुग्नुभएका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित चलचित्रले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । चलचित्र हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबा–आमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

चलचित्रका कलाकारहरू राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् । पहिलो दिनमा ९५ शो पाएको यो चलचित्रले अहिले सवासयको हाराहारीमा शो पाएको छ ।

चलचित्रमा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारको अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैँले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेख्नुभएको छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा यस चलचित्रको निर्माण विष्णुमाया मैनालीले गनुभएको हो भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहनुभएको छ । यस्तै जीपी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा हनुहुन्छ । टीकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक रहनुभएको छ ।

चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, ऋच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार