धनगढी,
कात्तिक २६ ।
ए. एस. उडान फिल्म प्रोडक्सन धनगढी कैलालीले निर्माण गरेको ‘ऋतु’ बाल लघु चलचित्रका कलाकारहरूलाई धनगढीमा सम्मान गरिएको छ । प्रतिनिधि सभाका सदस्य डिल्लीराज पन्त र सुदुरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठकले कलाकारहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो ।
चलचित्र बिकास बोर्डबाट इजाजत लिएर एएस उडान फिल्म प्रोडक्सनले निर्माण गरेको ऋतु बाल लघु चलचित्रको निर्देशन र कथा लेखन अम्बिकाप्रसाद आचार्यले गर्नुभएको हो । शैक्षिक तथा सन्देशमुलक उक्त बाल लघु चलचित्रको कथा सम्पादक स्तुति आचार्य, क्यामेरामेन अनिल चौधरी तथा प्राविधिक लाइट्स्मेन योगेश अवस्थी रहनुभएको छ ।
सुदुरपश्चिममा नै छायांकन गरिएको ऋतु बाल लघु चलचित्रमा सोनिया बम, सुस्मिता कुँवर खड्का, सबिना कँडेल (बलायर), सुशीलप्रकाश जोशी, ज्योति उप्रेती, जवानी चौधरी, अभिषेक थापा, अमृता कार्की लगायतका कलाकारको अभिनय छ ।
त्यस्तै, नेपाली चलचित्रका चकलेटी नायक तथा मोडेल श्रीदेव भट्टराई र कार्यक्रम व्यवस्थापक संघ नेपालका अध्यक्ष राजेन्द्र लुइटेललाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले आचार्यले बिगतदेखि नै कलाकारितामा पुर्याएको योगदान उच्च रहेको बताउँदै अचार्यले अभिनय गरेको अर्पण चलचित्रको आफूले हेरेको सम्झना अझै रहेको सुनाउनुभयो । आचार्यले सो चलचित्रमा गरेको सशक्त अभिनय आफ्नो मानसपटलमा आजसम्म ताजै रहेको उहाँले बताउनुभयो । आचार्य आज कलाकार उत्पादनका लागि ब्यानर बनाएर लाग्नु यस क्षेत्रको लागि निकै प्रशंसनिय कार्य भएको पन्तले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले सुदुरपश्चिमको पहिलो नायक अम्बिकाप्रसाद जीले आफूलाई नायकदेखि ऋतु बाल लघु चलचित्रबाट निर्माता र निर्देशकका रुपमा पनि आफूलाई स्थापित गरेको बताउनुभयो ।
नायक श्रीदेव भट्टराईले सुदुरपश्चिम कला क्षेत्रमा धनी भएको बताउँदै यहाँ चलचित्र निर्माणका लागि निकै आकर्षक क्षेत्रहरू रहेको बताउनुभयो । सुदुरपश्चिममा आफूले तीन चलिचित्रमा अभिनय गरिसकेको भट्टराईले बताउनुभयो ।
निर्माता तथा निर्देक आचार्यले सुदुरपश्चिममा नै कलाकार उत्पादन गर्ने कलेज तथा इन्स्टिच्युट स्थापना गर्ने, अभिनय प्रशिक्षण सिकाउने इन्स्टिच्युट स्थापना गर्ने र सुदुरपश्चिमका सबै भाषाभाषीमा चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
एएस उडान फिल्म प्रोडक्सनका निर्देशक अम्बिकाप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गुणाकर पनेरुले गर्नुभएको थियो ।
ए एस उडान प्रोडक्सनको कार्यालयका पनि उद्घाटन गरिएको छ । प्रतिनिधि सभाका सदस्य डिल्लीराज पन्त, सुदुरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठक, नायक भट्टराई र लुइटेलले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।






