‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ लोकार्पण

काठमाडौं,
कात्तिक २२ ।

‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक शुक्रबार चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित उक्त पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरु शान्तिप्रिय, विदुर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभएको थियो ।

लोकार्पण पछि कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सङ्घका अध्यक्ष बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिक तुल्याउँदै नयाँ पुस्तालाई सक्रिय बनाउन लागि परेको जिकिर गर्नुभयो । कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारिताका विषयमा बोर्डका अध्यक्ष डिसी, कलाकार सङ्का अध्यक्ष निरौला, पत्रकारहरू शान्तिप्रिय, धुर्ब लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाबीच विचार मन्थन भएको थियो ।

छलफलमा चलचित्र पत्रकारहरूले कुनै निश्चित चलचित्रको प्रचारक नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार