प्रदर्शनमा ‘मन बिनाको धन’ र ‘जारी २’

काठमाडौं,
कात्तिक २१ ।

आजदेखि सिनेमाघरमा चलचित्र ‘मन बिनाको धन’ र ‘जारी २’ प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् । ‘जारी २’ जारीको सिक्वेल हो भने ‘मन बिनाको धन’बाल गायक अशोक दर्जीको कथा हो । दुवैलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएसँगै सवै उमेर समुहका दर्शकले सहजै सिनेमा हेर्न पाउनेछन् ।

‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखुलगायतको अभिनय छ । सञ्जय लामाको छायांकन रहेको यो चलचित्र २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

यस्तै, चलचित्र ‘मन बिनाको धन’ गायक अशोक दर्जीको जीवनकथामा आधारित छ । यसमा अशोक स्वयं मुख्य भूमिकामा हुनुहुन्छ भने उहाँसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय छ ।

यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत तथा मित्र डि.गुरुङको सम्पादन छ । विष्णुमाया मैनाली निर्माता रहेको चलचित्रमा जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा हुनुहुन्छ भने सपना शर्मा कार्यकारी निर्माता रहनुभएको छ ।

यस्तै, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’सँगै तिहारमा आएका चलचित्र ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’लगायत पनि प्रदर्शनमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार