काठमाडौं,
कात्तिक १९ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।
लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको युएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ । अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ ।
अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले आठ अंक मात्र बनाएको छ ।
समान १९ खेल खेलेको नेपालको १२ अंक छ । तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन ।






