काठमाडौं,
कात्तिक १८ ।
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा मंगलबार चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका कलाकार हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश, जितु र दीपाश्रीसँगै सीताराम कट्टेल (धुर्मुस), सागर लम्साल (बले), जनी गुरुङलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ ।
चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को-को हुन् भन्ने प्रष्ट पारिएको छैन । पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो चलचित्रमा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? पनि निर्माणपक्षले खुलाएको छैन ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेख्नुभएको छ । पटकथा तथा संवाद पनि उहाँकै रहेको छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुनुहुन्छ ।
चलचित्रको निर्माणमा बजेटका कारण कुनै ‘कम्प्रमाइज’ हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताउनुभयो । उहाँले सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने दाबी गर्नुभयो । केही महिनाभित्र चलचित्रको छायाकंन सुरु हुने निर्माणपक्षले जनाएको छ ।






