काठमाडौं हरर चलचित्र महोत्सव

काठमाडौं,
कात्तिक १५ ।

काठमाडौंमा हरर चलचित्र महोत्सव शुक्रबारदेखि सुरू भएको छ । काठमाडौं हरर फिल्म फेस्ट २०२५ शुक्रबार साँझ रसियन हाउस, कमलपोखरीमा सुरू भएको हो । नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रूसको राजदूतावासको सहकार्यमा सुरू भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको उपाध्यक्ष शिव पुरीले बताउनुभयो ।

उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकका अनुसार, हेलोविनको दिनमा सुरू भएको यो महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ।

मुख्य अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता उल्लेख रहेको बताउनुभयो । भौतिकताले भरिएको यो युगमा पनि यस्ता उत्सवहरूले मानवीय सम्बन्धलाई जोगाइराख्ने र सृजनात्मक सम्बन्ध बलियो बनाउने उहाँले बताउनुभयो ।

प्रख्यात चलचित्रकर्मी तथा नेपाल फिल्म एण्ड कल्चर एकेडेमी सल्लाहकार तुलसी घिमिरेले महोत्सवलाई उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म भएको भन्दै प्रशंसा गर्नुभयो ।

रसियन हाउसकी निर्देशक तथा रूसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभाले हामी एनएफसीएसँग सहकार्य गर्न पाउँदा खुसी छौं भन्दै चलचित्रले संस्कृतिहरू जोड्छ र चलचित्र अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि रुसमा छात्रवृत्ति अवसर पनि प्रदान गर्न पाउँदा सन्तुष्ट मिलेको बताउनुभयो ।

जुरी सदस्य राजभाइ सुवालले सहभागीहरूलाई सबै चलचित्र हेर्न र सिकाइको अवसर नछुटाउन आग्रह गर्नुभयो ।

अन्य जुरि सदस्यहरूमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) रहनुभएको छ ।

एनएफसीएका उपाध्यक्ष तथा चलचित्रकर्मी एवं सम्पादक शिव पुरीले महोत्सवलाई नेपाली चलचित्र उद्योगका लागि नयाँ अवधारणा र नयाँ दिशाको सुरूवात रहेको बताउनुभयो ।

महोत्सवको उद्घाटन रूसको चलचित्र शमन (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको हो । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका हरर कथाहरू समेटिएका छन् ।

महोत्सवले नोभेम्बर २ सम्म प्रदर्शनहरू जारी राख्नेछ। समापन समारोहमा तीन मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ। फिल्मप्रेमीहरूले खल्ती एपमार्फत टिकट खरिद गरी रूसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार