यस्तो छ ‘मनबिनाको धन’को ट्रेलर

काठमाडौं,
कात्तिक १३ ।

यही कात्तिक २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनक ट्रेलरमा गायक अशोक दर्जीको संघर्ष र सफलताको कथा पेश गरिएको छ । बाल्यकालमा पैसाका लागि सडकमा गीत गाउने अवस्थाबाट चर्चित गायक बन्ने यात्रासम्मको घटनाक्रमलाई यसमा समेटिएको छ ।

 

प्रेम, हाँसो, रोदन र खुशीको मिश्रण रहेको ट्रेलरमा अशोकको संघर्षपूर्ण बाल्यकाल, ‘मनबिनाको धन’ गीतको लोकप्रियतापछि पाएको ख्याति, स्कुले जीवनका रमाइला क्षणहरूसँगै निमुखा जनतामाथि राज्यले गर्ने व्यवहार र विदेश पलायनको कथालाई पनि मर्मस्पर्शी रूपमा देखाइएको छ । सार्वजनिक ट्रेलरमा अशोकले सडकमा गीत गाएको देखि सांगीतिक सफलतासम्मको कथा देख्न सकिन्छ ।

सडकमा गीत गाउँदै पैसा मागेकोबाट ट्रेलर सुरू हुन्छ । त्यसपछि उहाँलाई एक मनकारी व्यक्तिले काठमाडौं ल्याउँछन् । काठमाडौं आएसँगै उहाँको जीवनमा आउने परिवर्तनको कथा ट्रेलरमा छ । चलचित्रमा अशोक नै मुख्य भूमिकामा देखिनुभएको छ ।

यसै चलचित्रमार्फत संगीतकार तथा गायक टंक बुढाथोकीले निर्देशनमा डेब्यु गर्नुभएको छ । चलचित्रमा उहाँकै कथा र संगीत निर्देशन रहेको छ । ‘हिरोदेखि जिरोसम्मको कथा’ भनिएको छ ।

चलचित्र अशोकसहित सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउतलगायत कलाकारको अभिनय छ । यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो ।

चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत तथा मित्र डि.गुरुङको सम्पादन छ । विष्णुमाया मैनाली निर्माता रहेको चलचित्रमा जी.पी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा हुनुहुन्छ भने सपना शर्मा कार्यकारी निर्माता रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार