काठमाडौं,
कात्तिक ११ ।
टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव संगाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।
‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिए । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई फिल्मकै शैलीमा पटकथा तयार गरिएको छ’, निर्देशक दीपक भन्नुहुन्छ ।
कोभिडमुक्त भएपछि उहाँले यम थापालाई पटकथा लेखनका लागि दिनुभयो । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक दीपकले बताउनुभयो ।
‘चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा-आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु’, निर्देशक आचार्यले भन्नुभयो ।
यस चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुशी नै हुनुहुन्छ ।
‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरूको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ’, निर्देशक दीपकले भन्नुभयो ।
परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङको सम्पादन र गगन थापामगरको सङ्गीत सृजना छ । यो चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।






