यम पञ्चकको दोस्रो दिन आज काग तिहार र धनवन्तरी जयन्ती

काठमाडौं,
कात्तिक २ ।

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदै छ । काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजो (शनिबार)देखि नै यम पञ्चक सुरु भएको छ । यस्तै, आज धनवन्तरी जयन्ती पनि मनाइँदै छ ।

काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल्, शुभ बोल् भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाइँदै छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिनुभएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रूपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ । आज देशभरका आयुर्वेद अस्पताल तथा क्याम्पस र वैद्यखानामा धनवन्तरी जयन्ती विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

झिलिमिली उज्यालोको चाड तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरिथरिका बत्ती बाल्न सुरु भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार