राजेश हमालको ‘युगदेखि युगसम्म’

काठमाडौं,
असौज २५ ।

नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिँदै यस पुस्तकमा आफूले जिएको जीवन पुनः अनुभव गरेको अनुभूति व्यक्त सुनाउनुभयो । ‘करिब–करिब तीनवर्ष लाग्यो यो पुस्तक लेख्न । यो तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो’, हमालले भन्नुभयो, ‘फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो ।’

उहाँका अनुसार पुस्तकमा चलचित्र क्षेत्रको अनुभूतिसँगै समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल र पारिवारिक पृष्ठभूमि जस्ता विषयहरू रोचक ढंगले प्रस्तुत गरिएका छन् । ‘यो केवल सिनेमाका कुरामात्रै होइन, सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाहरू समेटिएका छन् । राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन र पारिवारिक सम्बन्धहरूसमेत पुस्तकमा छ’, उहाँले भन्नुभयो ।

फाइनप्रिन्ट द्वारा प्रकाशित पुस्तक पत्रकार यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो । यस पुस्तकमा हमालको तीन दशकभन्दा लामो चलचित्र यात्रा, अहिलेसम्म सार्वजनिक नभएका व्यक्तिगत पक्षहरू, परिवारसँगको सम्बन्ध र सामाजिक सन्दर्भसमेत समेटिएका छन् । राजेश हमाल नेपाली चलचित्र इतिहासका एक बहुप्रभावशाली व्यक्तित्व हुनुहुन्छ । ‘युगदेखि युगसम्म’ न केवल उहाँको जीवनको दस्तावेजमात्र नभएर नेपाली सिने क्षेत्रको एक महत्वपूर्ण कालखण्डको साक्षी हुने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार