काठमाडौं,
असोज २४ ।
डब्बु क्षत्रीको शब्द रचना रहेको गीत ‘लहर झैँ’ सार्वजनिक गरिएको छ । बेनिसा पौडेलको स्वर र जुगल डंगोलको संगीत एवं संगीत संयोजन रहेको पप शैलीको गीतको भिडियो बडा दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो ।
डब्बुकै निर्देशन रहेको गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारतीलाई फिचरिङ गरिएको छ । यसमा एक युवतीको स्वतन्त्रता, उत्साह र स्वतन्त्र जीवनयापनको चाहनालाई मुख्य विषयवस्तु बनाइएको छ । भिडियोका सम्पूर्ण दृश्यहरू मलेशियाका रमणीय स्थलहरूमा छायांकन गरिएको छ, जसमा समुद्र किनारदेखि विभिन्न पर्यटनस्थल समेटिएको छ ।
छायांकन तथा फोटो पत्रकार बद्री थापाका अनुसार भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन वीरेन्द्र भाट ‘बिपिन’ले गर्नुभएको छ । विलक्षण क्रियसनले निर्माण गरेको गीतको भिडियो ‘एसबी क्रियसन नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






