काठमाडौं,
असोज २३ ।
आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा बुधबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो ।
कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडनुभयो । बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई-दुई विकेट लिनुभयो भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिनुभयो ।
उहाँले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाउनुभयो । यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०/२० रन बनाउनुभयो भने कप्तान रोहित पौडेलले १६ बनाउनुभयो ।
कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई-दुई विकेट लिनुभयो । मोहम्मद आकिफ फरुकले एक विकेट लिनुभयो । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।






