काठमाडौं,
असोज २२ ।
हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म सधैं सँगै देखिँदै आएका चर्चित कलाकार दयाहाङ राई र विजय बराल फेरि एउटै पर्दामा फर्किनुभएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’मा यी दुई कलाकारले मुख्य भूमिका निभाउनुभएको छ ।
प्रचार सामग्री अनुसार, पोस्टर, मोसन पोस्टर र टिजरमा दुवै कलाकारलाई बराबरी स्थान दिइएको छ । टिजरमा दयाहाङ र विजयबीच आपसी नोकझोक र प्रतिस्पर्धा झल्किएको छ, जसले दर्शकमा उत्सुकता थपेको छ ।
केही समयअघि सार्वजनिक भएको ‘न्यौली बनैमा’ बोलको गीतमा विजय बराल र समृद्धि अर्यालको जोडी देखिएको छ, जबकि दयाहाङ त्यसमा अनुपस्थित हुनुहुन्छ । यसले चलचित्रको मुख्य पात्र को हो भन्नेमा दर्शकबीच कौतुहलता बढाएको छ ।
दयाहाङ राई नेपाली सिनेमामा स्थापित नाम हो भने पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’ सफल भएपछि विजय बराल पनि लगातार मुख्य भूमिकामा देखिन थाल्नुभएको छ । त्यसैले ‘वरिष्ठ बलराम’मा दुवै अभिनेताको बराबरी उपस्थिति दर्शकका लागि थप रोचक बन्ने अपेक्षा गरिएको छ ।
चलचित्रको नाम ‘बलराम’ सुन्दा समुदायगत रूपमा क्षेत्री-ब्राह्मण नामजस्तो लागे पनि कथानक अनुसार पात्रको पृष्ठभूमि खुलाइएको छैन । निर्माणपक्षले यो विषयलाई सस्पेन्सका रूपमा राखेको छ ।
कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउने ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा तथा सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेख्नुभएको हो । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुनुहुन्छ ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ ।






