‘बलिदान’मा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ : सेन

काठमाडौं,
असोज ९ ।

‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनले यस चलचित्रप्रति आफ्नो गहिरो विश्वास प्रकट गर्नुभएको छ । उहाँका अनुसार यो चलचित्र केवल मनोरञ्जनको साधनमात्र नभई देशभक्ति र आमाप्रतिको कर्तव्यबोधको जीवन्त अभिव्यक्ति हो ।

‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्नु निकै चुनौतीपूर्ण थियो । लामो धैर्य र अथक परिश्रमपछि यो चलचित्र दर्शकसमक्ष ल्याउन लागिएको हो । यसको प्रमुख आधार भनेकै मातृभूमिप्रतिको समर्पण र आमाप्रतिको माया हो’, सेनले भन्नुभयो, ‘चलचित्र सफल बनाउन कलाकारहरूको दमदार प्रस्तुति अत्यन्तै महत्वपूर्ण रहेको छ । हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमाप्रतिको गहिरो भावना सम्झाउनेछन् । साथै, यसले राजनीतिक कुटिलताले जनतालाई कसरी बहकाउँछ भन्ने सन्देश पनि दिन्छ ।’

मेकिङ र प्रस्तुतिलाई उच्च गुणस्तरीय भएको दाबी गर्दै उहाँले थप्नुभयो, ‘हामी आमाको कोखबाट जन्मिन्छौं र मातृभूमिको काखमा हुर्कन्छौं । यी दुवै हाम्रो जीवनका आधार हुन्, यही आधारलाई चलचित्रमा उतारिएको छ । दर्शकले चलचित्र हेर्दा केवल मनोरञ्जनमात्र होइन, रगत उमाल्ने जोस र काँडा उम्रिने खालको ऊर्जा पाउनेछन् ।’

गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा ठूलो उत्साह र बहस जन्माएको छ । यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको ‘बलिदान’ले ट्रेलरमार्फत झन् ठूलो अपेक्षा निर्माण गरेको छ । ट्रेलरमा आमा–छोराबीचको देश र अस्मिता जोगाउने वचनबद्धताको भावनात्मक दृश्य, अभिनेता समीर भट्टको दमदार प्रवेश, सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकीको फरक अवतार, तीव्र एक्सन दृश्य, दर्जनौं खलनायकहरूसँगको द्वन्द्व, सशक्त संवाद र प्रभावशाली ब्याकग्राउण्ड स्कोरलाई विशेष प्रशंसा गरिएको छ ।

यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा लोकप्रिय बनेको छ । सुजन चापागाईंको स्वर र संग्ीत तथा हर्क साउदको शब्दमा तयार गीतले देशभक्तिको भावना झन् प्रज्वलित बनाएको छ ।

‘आशुसेन फिल्मस् प्रा.लि.’को ब्यानरमा निर्माण भएको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय समेटिएको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ ।

यही असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय हुने अपेक्षा गरिएको छ । निर्देशक सेनका शब्दमा, ‘यो केवल चलचित्र मात्र होइन, हरेक नेपालीको मनमा बसिरहेको विद्रोहको प्रतीक हो ।’ उहाँका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार