काठमाडौं,
असोज ८ ।
‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने भावपूर्ण ट्यागलाइनसहित चलचित्रको फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी मंसिर ५ गतेदेखि सिनेमाघरमा आउने भएको छ । सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको फष्र्टलुक पोष्टरसहित प्रदर्शन मिति घोषणा गरिएको थियो ।
चलचित्रको पोष्टरमा एक पुरुष पात्रलाई महिलाको पहिरन र सिंगारमा देखाइएको छ । उनी भुइँमा लडिरहेका छन्, र अनुहारमा कसैले जुत्ता लगाएको खुट्टाले थिचेको दृश्य पोष्टरमा देखिन्छ । यसले चलचित्रको कथावस्तु लैगिंक पहिचान, सामाजिक बहिष्कार र आत्म-अस्तित्वको संघर्षसँग सम्बन्धित हुन सक्ने संकेत गरेको छ । यद्यपि, निर्माण टिमले चलचित्रको विस्तृत कथा सार्वजनिक गरेको छैन ।
चलचित्रका लेखक तथा निर्देशक त्यागमूर्ति हुनुहुन्छ । उहाँका अनुसार चलचित्रले समाजमा अझैसम्म मौन गराइएका विषयमाथि संवेदनशील दृष्टिकोणबाट प्रश्न उठाउने प्रयास गर्नेछ । चलचित्रमा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेरबहादुर डिसी, ‘सापटी काका’ (मेरी बास्सै), मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य र बाल कलाकार सागर खरेललगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता निर्देशक त्यागमूर्तिसँगै संकला गौतम र नरेशप्रसाद भट्ट हुनुहुन्छ । चलचित्रमा निर्देशक त्यागमूर्तिकै संगीत र कोरियोग्राफी छ । चलचित्रको छायांकन महफूज अंसारी र राहुल राईले गर्नुभएको छ । सम्पादन सुभास देवकोटा, ब्याकग्राउण्ड म्युजिक लोकनाथ सापकोटा, शृंगार डिके हमाल, रंग संयोजन कल्पेश विश्वकर्मा र पोष्टर डिजाइन पनि विश्वकर्माकै छ ।






