फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब असोज २४ मा प्रदर्शन हुने

काठमाडौं,
असोज ७ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति सरेको छ । असोज १३ गते अर्थात् दशैँको फूलपातीमा रिलिज हुने भनिएको यो चलचित्र अब असोज २४ गतेदेखि सिनेमाघरमा आउने भएको छ । निर्माण पक्षले विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शोको संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

‘हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘अभिमन्युः च्याप्टर १’ देशमा भएको जेन-जी आन्दोलनका कारण स्थगन गर्नुपरेको थियो । तर, हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै चलचित्रहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरूलाई समेत असर पार्ने अवस्था देखियो ।

यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई चलचित्रको अन्तिम प्रदर्शन मिति तय गरेका छौं । यसदिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौं ।’ यसपटक चलचित्रले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा हुनुहुन्छ ।

सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ भने निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ भने लाइन प्रोड्युसरमा जीवन शाक्य हुनुहुन्छ ।
विनोद र रमेश कीर्तिमानी चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्माता हुनुहुन्छ । ‘अभिमन्यु : च्याप्टर १’ नेपाली संस्करणसँगै हिन्दीमा पनि असोज २४ गतेदेखि भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले यसलाई नेपाली चलचित्रका लागि ठूलो अवसरका रूपमा लिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार