‘डल्लेले इन्ट्री मार्‍यो’मा रोशनी खड्का

काठमाडौं,
असोज ७ ।

चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का प्रमुख भूमिकामा देखिने हुनुभएको छ । निर्माण टिमले सोमबार घटस्थापनाको दिन रोशनीलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।

मिस नेपाल २०२५ को अडिशन भिडियो सार्वजनिक भएपछि चर्चामा आउनुभएकी रोशनीले यस चलचित्रमार्फत नेपाली फिल्म उद्योगमा प्रवेश गर्न लाग्नुभएको हो । उहाँलाई हाँस्य कलाकार सागर लम्साल (बले)को जोडीको रूपमा प्रस्तुत गरिने निर्देशक राजु गिरीले जानकारी गराउनुभयो ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर लम्साल र रोशनी खड्कासँगै रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायत कलाकारको अभिनय रहनेछ । हास्यसहित सामाजिक सन्देश समेट्ने कथावस्तु रहेको यो चलचित्र ‘उषा फिल्मस्’ को ब्यानरमा निर्माण हुनलागेको हो ।

चलचित्रको छायांकन श्याम तामाङले गर्नुहुनेछ भने द्वन्द्व निर्देशन देव महर्जनको रहनेछ । अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने यो चलचित्रको छायांकन चितवन र काठमाडौंमा गरिने निर्देशक गिरीले जनाकारी गराउनुभयो । दशैँपछि यसको छायांकन सुरु गरिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार