काठमाडौं,
असोज ६ ।
छन्दकविता संगीत र गायनका माध्यमबाट प्रस्तुत गर्ने नवीन अभ्यासलाई सशक्त बनाउने क्रममा संगीतकार सन्तोष श्रेष्ठले कवि तथा गजलकार रूपक अलंकारको कविता ‘म हूँ स्वतन्त्र रापती’लाई संगीतबद्ध गरी आफ्नै स्वरमा गाउनुभएको छ । विश्व कीर्तिमानी संगीतकार श्रेष्ठले कवि रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’मा संकलित उक्त कविता गाएर सार्वजनिक गर्नुभएको हो ।
पञ्चचामर छन्दमा रचित कविता ‘म हूँ स्वतन्त्र रापती’मा राप्ती नदीको स्वरूप, स्वाभिमान र स्वतन्त्रताको भाव प्रकट गरिएको छ । छन्दकवितामा लय, माधुर्य र गहिरो अर्थ सम्प्रेषण गर्न सकिने सम्भावनालाई प्रयोगमा ल्याउने उद्देश्यले श्रेष्ठले यस कविता चयन गर्नुभएको हो । ‘छन्दको कोमलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ । यदि शब्दहरू पनि संगीतमैत्री भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ’, संगीतकार श्रेष्ठ भन्नुहुन्छ ।
श्रेष्ठले यसअघि पनि छन्दकविताको गायनमा प्रयोग गर्दै आउनुभएको छ । महाकाव्यकार खेमनाथ दाहालका कविता गाइसक्नुभएका श्रेष्ठले छन्दमा आधारित सिर्जनालाई संगीतमा रूपान्तरण गर्दै आउनुभएको छ । कवि रूपकले ‘शान्त शर्वरी’ संग्रहबाट दुईवटा कविता सन्तोष श्रेष्ठले गाएको जानकारी दिनुभयो । ‘उहाँले रारासम्बन्धी अर्को कविता पनि गाउनुभएको छ’, कवि रूपकले बताउनुभयो, ‘त्यो कविता पनि केही समयपछि सार्वजनिक गर्ने तयारीमा छौं ।’
संगीतमार्फत छन्दकविताको प्रचारप्रसार गर्ने यो अभियानले नेपाली साहित्य र संगीतबीचको सहकार्यलाई नयाँ उचाइ दिने विश्वास साहित्यिक वृत्तमा गरिँदैछ ।






