सिड्नी,
असोज ६ ।
अष्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा आइतबार नयाँ र आधुनिक ‘ग्राण्ड प्यालेस फङ्सन सेन्टर’ उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रस्तुत गरेको एकल गायनले कार्यक्रमलाई झनै आकर्षक र अविस्मरणीय बनाएको थियो । यस फङ्सन सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गर्नुभएको हो ।
निर्देशक तथा डिजाइनर बस्नेतका अनुसार, सिड्नीमा ठूला स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न अभाव भएको स्थानलाई पूरा गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो ।
फङ्सन सेन्टरमा दुईवटा फरक क्षमताका हल छन् । ठूलो हल ः करिब चार सयजनासम्म र सानो हल करिब दुई सयजनासम्म अट्नेगरी बनाइएको छ । सञ्चालकहरूको योजनानुसार, हरेक महिना नेपालबाट कलाकार बोलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
स्मरण रहोस्, निर्माता रञ्जित शाह, सन्तोष तिवारी र निर्देशक शोभित बस्नेतको संयुक्त निर्माणमा बनेको चलचित्र ‘पी.आर.’ अहिले अस्ट्रेलियाभर प्रदर्शन भइरहेको छ भने छिट्टै अल नेपाल प्रदर्शनको तयारी भइरहेको छ ।






