काठमाडौं,
असोज ३ ।
तिहारको भाइटीकामा सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ । जसमध्ये एउटा पोष्टरमा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकारहरू पनि हुनुहुन्छ । दयाहाङ र विजयले मुख्य स्थान पाएको पोष्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।
पोष्टरमा दयाहाङ सोचमग्न हुनुहुन्छ भने विजय पनि केही सोच्दै रिसाएको भावमा कसैलाई नियालिरहनुभएको देखिन्छ । पोष्टरमा अभिनेत्री समृद्धि अर्याल भने मुस्कानमा देखिनुभएको छ । दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकारहरू पनि पोष्टरमा देखिनुभएको छ । उनीहरू तीनवटा बाइकमा कसैलाई पिछा गरिरहेका छन् । एउटा बाइक भने विजय स्वयंले चलाउनुभएको छ । अर्को एउटा बाइक मधेसीको गेटअपमा प्रदीप चौधरीले चलाइरहनुभएको छ । पोष्टरले चलचित्रको कथाबारे संकेत गरे पनि स्पष्ट छैन ।
अर्को पोष्टरमा मुख्य कलाकारहरू दयाहाङ र विजयमात्र हुनुहुन्छ । जसमा यी दुई एक–अर्कासँग हात समातेर एक-अर्कालाई रोक्न खोजेको वा एकअर्काविरूद्ध उत्रिएको अवस्थामा देखिएका छन् । यो पोष्टरले उहाँहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको समेत अनुमान गर्न सकिन्छ । शीर्षक अनुसार चलचित्रमा एकले अर्कोलाई जितेर आफू वरिष्ठ भएको प्रमाणित गर्न चाहने पनि यो पोष्टरले संकेत गरेको छ । पृष्ठभूमिमा खुला सडक कुनै औद्योगिक क्षेत्रजस्तो देखिन्छ । जहाँ ठूला सवारीसाधनहरू (ट्रिपर) देखिएका छन् । जसका कारण दयाहाङ र विजय ठेक्कापट्टामा रहेका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ पोष्ट प्रोडक्सनमा छ । यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके)लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो । वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता हुनुहुन्छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा मनकृष्ण महर्जनको छायांकन छ ।






