काठमाडौं,
भदौ १६ ।
चलचित्र विकास बोर्डले आइतबार ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बोर्डको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय ८६ जना कलाकार तथा प्राविधिकलाई सो परिचयपत्र वितरण गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालको विशेष उपस्थितिसहित चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
बोर्डका अध्यक्ष दिनेश डि.सी.ले चलचित्रकर्मी परिचयपत्रलाई ‘राष्ट्रले दिएको पहिचान’का रूपमा ग्रहण गर्न आग्रह गर्दै यसले चलचित्रकर्मीलाई छुट्टै गरिमा दिलाउने बताउनुभयो । ‘परिचयपत्रमा हामीले सक्दो सेवासुविधा दिएका छौँ, तर सुविधा नभए पनि यो नै चलचित्रकर्मी भएको पहिचान हो। यसलाई ग्रहण गर्नु आफैँमा गौरवको कुरा हो। आगामी दिनमा थप सेवासुविधा थपिने नै छ’, उहाँले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङले चलचित्रकर्मीहरूको योगदानको कदर गर्दै, विशिष्ट चलचित्रकर्मी परिचयपत्रधारीलाई एक लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा, चलचित्रकर्मी परिचयपत्रधारीलाई ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा उपलब्ध गराइने घोषणा गर्नुभयो ।
उहाँले सरकार चलचित्र उद्योगको समृद्धिका लागि प्रतिबद्ध रहेको र असोज १५ लाई राष्ट्रिय फिल्म दिवसको रूपमा भव्यताका साथ मनाउन आग्रह गर्नुभयो ।
अध्यक्ष डिसीका अनुसार २० देखि ३० वर्षसम्म चलचित्र क्षेत्रमा योगदान पुर्याउने फिल्मकर्मीहरूलाई यसपटक परिचयपत्र प्रदान गरिएको हो । कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानसहित ८६ जना फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको छ ।
कार्यक्रममा अभिनेता बुद्धी तामाङलाई विशेष योगदान सम्मान प्रदान गरिएको थियो । ‘चलचित्र चे’ (लिम्बु भाषा) र ‘चलचित्र दिलसरा’ (मगर भाषा) लाई दुई लाख रुपैयाँको प्रोत्साहन रकम हस्तान्तरण गरिएको थियो ।






