‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ धार्मिक चलचित्र होइन : हिमाल न्यौपाने, निर्देशक

काठमाडौं,
साउन ३१ ।

चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ राखेको थियो । तर, निर्माणपक्षले यसको केही समयअघि नाम परिवर्तन गर्यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो ।

यद्यपि, ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ धार्मिक चलचित्र नभएको निर्देशक हिमाल न्यौपानेले बताउनुभएको छ । विषय र प्रसंगले जुरेको नामका आधारमा चलचित्र नै धार्मिक हो कि भन्ने आंशका गरिएको उहाँको भनाइ छ ।

‘हाम्रो चलचित्र धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो,’ निर्देशक न्यौपानेले भन्नुभयो, ‘तर, पनि हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं । काम गर्ने मान्छे काम गरौँमा कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौैं भनेर शब्द परिवर्तन गर्यौं ।’

यद्यपि, निर्देशक न्यौपाने आफूहरूले चाहेको भए पुरानै नाम राखेर फिल्म बनाउन सक्ने बताउँनुहुन्छ । सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न सक्ने उहाँको भनाइ छ । कसैले पनि कुनै पनि विषयमा सिनेमा बनाउन रोक्न नसक्ने उहाँ प्रष्ट पार्नुहुन्छ ।

यो चलचित्र भदौ ६ गते रिलिज हुँदै छ । चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार