काठमाडौं,
साउन २९ ।
रुपन्देही-३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिनका लागि २७ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले साउन २१ देखि २७ गतेसम्म दल दर्ताका लागि समय तोकेको थियो । उक्त अवधिमा २७ दलबाट २८ वटा निवेदन दर्ता भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का आन्तरिक विवादका कारण दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दर्ता नं ६ मा निवेदन दिएका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन दर्ता नं २५ मा निवेदन दिएकी थिइन् । यसअघि साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे पनि आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ ।
उपनिर्वाचनमा सहभागी हुन निवेदन दिने अन्य दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।
आयोगको कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशित गरिनेछ। रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि कात्तिक १७ गते सोमबार मतदान हुनेछ। उम्मेदवारी दर्ता असोज २१ गते हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि उक्त क्षेत्रको पद रिक्त बनेको हो ।






