काठमाडौं,
साउन २४ ।
हिन्दू धर्मावलम्बीहरुले आज जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदैछन् । यस्तै, आज संस्कृत दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस र अन्तर्राष्ट्रिय भू(संरक्षण दिवस पनि मनाइँदै छ ।
आज जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।
यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।
यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
यस्तै आज नेपालको तराई क्षेत्रमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदी बहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदी बहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । पर्वका लागि दिदी बहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् ।






