‘विद्यालोक धरान’ लोकार्पण

काठमाडौं,
साउन १८ ।

प्रवेशिका परीक्षा समूह-२०५ धरानको ‘विद्यालोक धरान’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । धरान पब्लिक हाइस्कुलका अध्यक्ष एवं सामाजिक अभियन्ता हरिबहादुर कार्कीको सभापतित्व र विशिष्ठ गीतकार एवं साहित्यकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो । कृतिको प्रमुख अतिथि, सभापतिसँगै समाजसेवी सुरेशकुमार शर्मा, प्राडा. माधवप्रसाद पोख्रेल, सुरेशकुमार वर्मा, हरिहर दाहाल, प्राडा.कृष्णप्रसाद दाहाल, प्राडा.सजिता बर्मा, प्राडा.सुरेन्द्र केसी, भुपेन्द्र कार्की, खेमनाथ दाहाल, रामप्रसाद श्रेष्ठलगायतले लोकार्पण गर्नुभएको थियो ।

गीतकार एवं चलचित्रकर्मी गणेश सुवेदीले सहजीकरण गर्नुभएको समारोहको एनिमेटेड ब्यानर प्रमुख अतिथिबाट स्विच अन गरेर समुद्घाटन गरिएको थियो । ‘विद्यालोक धरान’ प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीले स्वागत मन्तव्य राख्दै कृति प्रकाशनका विभिन्न चरणको जानकारी गराउनुभएको थियो । उहाँले यस कृतिको प्रकाशन धेरै साथीहरूको सहभागितामा पूरा भएको बताउनुभयो । यसको बिजारोपण अमेरिकाबाट काठमाडौं आउनुभएका साथी यादव कार्कीले ‘प्रयाशः आफू काठमाडौं आउँदा भेट हुने चार-पाँच बालसखाहरूको चिया बसाइमा हामी धरान पब्लिक हाइस्कुलमा २०२५ सालका एसएलसी समूहका पूर्वविद्यार्थीहरू एक संगठन बनाएर भेट गर्ने अन्तक्र्रिया गर्ने परम्पराको थालनी गरौन’ भन्ने आशयले मूर्त रूप पाएको उहाँको भनाइ थियो ।

कृतिका प्रधान सम्पादक खेमनाथ दाहालले धरान पब्लिक हाइस्कुल विसं २०२५ सालका एसएलसी समूहका सकेसम्म सबैलाई समेटेर यो पुस्तकका रूपमा लोकार्पण गरिएको बताउनुभयो । उहाँले कृति पठनमा सहजताका लागि पाँच खण्ड र एक परिशिष्टमा विभक्त गरिएको जानकारी गराउनुभयो । उहाँले धरान आफैंमा शिवभूमि, पुण्यभूमि रहेको बताउँदै त्यहाँ जन्मिएर धरानसँग जोडिन पाउनु हरेक धरानका सन्ततिका लागि अहोभाग्य रहेको र अझ धरानमाथि आफूहरूले प्रकाश पार्ने मौका पाउनु महान् कर्म भएको जिकिर गनुभयो । उहाँले कृतिलाई साकार रूप दिन बौद्धिक लेख रचना उपलब्ध गरिदिने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

कृतिको समिक्षा प्राडा.कृष्णप्रसाद दाहाल र प्राडा.सजिता बर्माले गर्नुभएको थियो । प्राडा.कृष्णप्रसादले धरान एतिहासिक, धार्मिक र पुरातात्विक धरोहर रहेको बताउँदै कृति धरानबासीका साथै सबैका लागि संग्रहणीय रहेको चर्चा गर्नुभयो । यस्तै प्राडा.बर्माले कृतिभित्र रहेका लेख रचनाका विषयमा आफ्ना भनाइ राख्दै यो कार्य स्तुत्य रहेको बताउनुभयो ।

कार्यक्रममा यादव कार्की अमेरिका र नारायण कार्कीले अष्ट्रेलियाबाट भर्चुअल शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले यस कार्यले आज मूर्तरूप लिएको भन्दै सबैलाई बधाई तथा धन्यावाद दिनुभएको थियो । प्राडा.सुरेन्द्र केसीले आफू धरानमा धेरै वर्ष विताएको बताउँदै यो समूहले गरेको कार्य निकै प्रसंशनीय रहेको बताउनुभयो । उहाँले अन्यले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, प्रमुख अतिथि, अन्य अतिथिहरूले धरान र धरान पब्लिक हाइस्कुलका विषयमा चर्चा गर्दै एउटा इतिहास निर्माण गर्न सफल भएकोमा बधाई दिएका थिए । त्यस्तै, धरान पब्लिक हाइस्कुलका प्रधाध्यापक डा.इन्द्रमोहन झा, लोकप्रिय अभिनेत्री प्रियंका कार्की, धरानका निर्वतमान उपमेयर मञ्जु भण्डारी, अधिवक्ता देवीबहादुर घिमिरे, बलाराम न्यौपाने, रूकमनी मास्केलगायतले शुभकामना दिनुभएको थियो । समारोहमा कृतिका सम्पादक रमेश दाहाललाई कदरपत्र पदान गरिएको थियो अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

समारोहमा प्रवेशिका परीक्षा समूह-२०२५ धरानका विद्यार्थीहरु डा. सरोज धिताल, महेश अग्रवाल, रामकुमार श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, आनन्द कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा.यज्ञेश्वर निरौला, डा. शान्तिमाया गिरि, साहित्यकार राधेश्याम लेकाली, लेखनाथ पोख्रेल, डा.अंगुर कार्की, उषा दाहाल, डा.बुनु दाहाल, साहित्यकार विक्रमभक्त जोशी, गायिका ऋतु कँडेल, लक्ष्मण सिटौला, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, कवि सविता गौतम, साहित्यकार मिलन शाह शंकरलगायत सञ्चारकर्मी, प्रवेशिका परीक्षा समूह-२०२५ धरानका व्यक्तित्व अन्य विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशक भुपेन्द्र कार्की/नारायण कार्की (प्रवेशिका परीक्षा समूह-२०२५ धरान) रहेको ५३२ पृष्ठको यो कृति ६ खण्डमा विभाजन गरिएको छ । कृतिको पहिलो खण्डमा धरानको इतिहास (भौगोलिक, सांस्कृतिक, धार्मिक आदि), दोस्रो खण्डमा संस्मरण (विस्मृतिमा धरान र स्कुले जीवन), तेस्रो खण्डमा काव्य/रचना (कविता, कथा, निबन्ध आदि), चौथो खण्डमा हरिहरप्रसाद वर्मा विशेष (धरान पब्लिक हाइस्कुलका प्रधानाध्यापक स्व.हरिहर बर्माको स्मृतिलेखहरूको सँगालो), पाँचांै खण्डमा परिचयखण्ड (प्रवेशिका परीक्षा समूह-२०२५ धरान) र छैटौं खण्डमा श्रद्धाञ्जलि (प्रवेशिका परीक्षा समूह-२०२५ धरानमा सम्मिलित दिवंगत विद्यार्थीहरू) समावेश गरिएको छ ।

साथै यस कृतिमा शैक्षिक विकासक्रमका ऐतिहासिक चिट्ठी-पत्र तथा प्रमाणपत्र, प्रवेशिका परीक्षा (टेष्टसहित) २०२५, धरान सम्मिलित विद्यार्थीहरूको नाम ठेगना र सम्पर्क नं., सहयोगी साथीहरू, हरिहरप्रसाद बर्मा (हेडसर)सँग सम्बन्धित तस्वीर र ऐतिहासिक धरान र समूहका विविध कार्यक्रम एवं ग्रन्थ निर्माण सन्दर्भका तस्वीरहरू यसमा समावेश गरिएको छ । एक हजार १०१ रुपैयाँ मूल्य राखिएको यो कृतिबाट संकलित रकमको अक्षयकोष खडा गरी यसबाट प्राप्त आम्दानी धरानका सार्वजनिक हाइस्कुलका मेधावी छात्रछात्रालाई छात्रवृतीका रुपमा प्रदान गरिने जनाइएको छ ।

कृति प्रकाशनको सल्लाहकारमा प्रडा.माधवप्रसाद पोख्रेल, सुरेशकुमार वार्मा र हरिहर दाहाल रहनुभएको छ । यस्तै, कृति प्रकाशन व्यवस्था समितिमा भुपेन्द्र कार्की र नारायण कार्की रहनुभएको छ । कृतिको प्रधान सम्पादकमा खेमनाथ दाहाल र सम्पादकमा रमेश दाहाल रहनुभएको छ भने सम्पादन सहयोगीमा डा.सरोज धिताल, दिनेश श्रेष्ठ, देवीबहादुर घिमिरे र बलराम न्यौपाने रहनुभएको छ । यसैगरी कृतिमा समावेश भएका लेख रचना र दस्तावेज संकलकमा जीवन श्रेष्ठ, कृष्णबहादुर कटुवाल, हिमप्रसाद ओझा, दीप कार्की, रामकुमार श्रेष्ठ, नरमाया लिम्बू र मानिका सुराना रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार