काठमाडौं,
साउन १७ ।
बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । नेपाल चलचित्र कलाकार संघले शुक्रबार अभिनेता हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको हो ।
नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता हमाललाई प्रदान गरेको हो ।
मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे उपस्थित हुनुहुन्थ्यो ।
संघका अध्यक्ष निरौलाले परिचय पत्र हस्तान्तरण गर्दै लामो समयदेखि नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु भएको योगदान, समर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको जानकारी गराउनुभयो ।
बिशिष्ट चलचित्रकर्मी राजेश हमालले कलाकारको पेशागत उत्थान, नेपाली चलचित्र को संरक्षण सम्बर्धनमा संघले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिनुभयो ।
२०४५ भाद्र २३ गते कलाकारहरूको हकहित र वर्गीय सुरक्षा एवम् नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली चलचित्र कलाकारहरूको एक मात्र छाता संगठन हो । नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सम्पूर्ण कलाकारहरू संघमा आबद्ध रहेको कुरा संघका महासचिव सबिन श्रेष्ठले बताउनुभयो । कलाकार संघको स्थापना दिवसको अवसर पारेर आगामी भाद्र २१, २२, २३ गते बिबिध कार्यक्रम गरी मनाउने कलाकार संघको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।






